सरकारी खर्च १० महिनामै ११ खर्ब ५३ अर्ब, पुँजीगत खर्च सुस्तै

२७ बैशाख २०८३, आईतवार १६:३५

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना पूरा हुनै लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये हालसम्म ५८.७५ प्रतिशत बजेट खर्च भएको छ ।

खर्च संरचना हेर्दा सरकारले चालुतर्फ सबैभन्दा बढी रकम खर्च गरेको छ । चालु शीर्षकमा विनियोजित ११ खर्ब ८० अर्ब रुपैयाँमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ खर्च भएको छ जुन कुल विनियोजनको ६८.०४ प्रतिशत हो ।

पुँजीगत खर्चतर्फ भने अपेक्षाकृत न्यून प्रगति देखिएको छ । चालु आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म १ खर्ब ९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ, जुन २६.८७ प्रतिशत हो ।

दीर्घकालीन पूर्वाधार निर्माणसँग सम्बन्धित पुँजीगत खर्चमा ढिलाइ हुँदा समग्र विकास खर्चमा प्रभाव परेको देखिन्छ । निर्माण सामग्री तथा इन्धन आपूर्तिमा देखिएको चुनौती, विशेषगरी अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले निर्माण गतिविधिमा असर पारेको बताइन्छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरेकोमा २ खर्ब ४० अर्ब रुपैयाँ खर्च गरेको छ, जुन ६४.१६ प्रतिशत हो । यो शीर्षकअन्तर्गत सरकारले आन्तरिक तथा बाह्य ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने गर्छ ।

राजस्व संकलनतर्फ सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेकोमा हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*