पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव, देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

२८ बैशाख २०८३, सोमबार ०७:१६

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र तथा मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको अवस्था देखिएको हो ।

हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने देशका अन्य भू–भागमा आंशिक बदली देखिएको महाशाखाले जनाएको छ । यसैबीच, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि मौसममा खासै सुधार नआउने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*