आजदेखि संघीय संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम आउँदै

२८ बैशाख २०८३, सोमबार ०८:०३

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

संविधानमा प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आज राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

संसद् सचिवालयले संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन अनुरोध गरेको छ ।

त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यतालिका रहेको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैबीच सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस गरिने भएका छन् । ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ अध्यादेश प्रतिनिधिसभा तथा राष्ट्रियसभामा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*