२७७ यात्रु बोकेको एयरबस ए३३० जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्दा आगो लाग्यो, सबै सकुशल

२८ बैशाख २०८३, सोमबार ०९:००

काठमाडौं । युरोपबाट एक मात्र सिधा उडान गर्दै आएको टर्किस एयरको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा आगो लाग्न पुगेको छ । घटनामा २७७ जना यात्रुको सकुशल उद्धार गरिएको छ । उक्त जहाजमा थप ११ जना चालक दलका सदस्यसहित कूल २८४ जना सवार थिए ।

टर्किको इस्तानबुलबाट काठमाडौं आएको एयरबस ३३० जहाज आज बिहान ६ः३३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अवतरणको क्रममा धावनमार्गको मध्यभागतिर पुगेपछि एक्कासी चक्कामा आगो लाग्न पुगेको थियो ।

घटनापछि जहाज धावनमार्गमै रोकेर आगो निभाइएको थियो । लगत्तै यात्रुहरुर्लाइ आपतकालिन ढोका प्रयोग गरेर बाहिर निकालिएको थियो । अहिले जहाजलाई पनि सकुशल पार्किङ वेमा ल्याएर चेकजाँच सुरु गरिएको छ ।

काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा लागेको आगो सामान्य खालको हो । ल्याण्डिङको समयमा ओभरलोड तथा प्राविधिक विषयहरु चालकदलका सदस्यहरुले मिलाउन नसकेपछि धावनमार्गमा गुड्ने पाङग्रामा आगो लागेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलहरुमा धावनमार्गमा अवतरणको क्रममा पाङ्ग्रामा आगो लाग्ने घट्नाहरु धेरै नै हुने गर्दछन् ।

आज विहानको घटना पुष्टि गर्दै विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । टर्किस एयरलाइन्सको एयरबस ए ३३० जहाजमा चार बच्चासहित २७७ यात्रु थिए ।

-तस्विरः सागर श्रेष्ठको फेसबुकबाट

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*