रोयल टुलिप काठमाडौंले आईपीओ जारी गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ग्वार्को ललितपुरले आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक लगायत सम्पूर्ण काम गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता भएको हो।
होटललाई आईपीओ निष्काशन गरी एक सूचिकृत कम्पनी बनाउनका लागि आवश्यक तयारी गर्ने, प्राईभेट कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने लगाएतका समन्वयकारी/सहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवा अन्तर्गत ‘रोड टु आईपीओ’ सम्झौता भएको हो।
सम्झौतापत्रमा होटलको तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्डका रुपमा रहेको रोयल टुलिप काठमाडौंको नामबाट संचालित द म्यासिफ होटल प्राइभेट लिमिटेड ललितपुर जिल्लाको ग्वार्कोमा रहेको छ। यस होटलमा ३०८ कोठाहरु र सुइट रुमहरु रहेका छन्। आधुनिक वास्तुकलाले युक्त यो पाँच तारे होटल हो। होटलको आफ्नै अत्याधुनिक हेल्थ क्लब पनि रहेको छ। होटलको इन हाउस रेष्टुरेन्टमा भोजनको साथै बैठक हलहरुमा कार्यक्रमहरुको आयोजना गर्न सकिन्छ।
रोड टु आईपीओ सम्बन्धी सम्झौतामा नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटल प्राइभेट लिमिटेडलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ।












