ओमेगा–३ सप्लिमेन्टले मस्तिष्कलाई हानी पुर्याउँछः अध्ययन

काठमाडौं । चीनको आर्मी मेडिकल युनिभर्सिटीले गरेको अनुसन्धानमा ओमेगा–३ सप्लिमेन्टले सोच्ने र सम्झने शक्तिमा सुधार नहुने बरु नकारात्मक असर पुर्याउने खुलेको छ। विशेषगरी मस्तिष्कको कार्यक्षमता चुस्त राख्नका लागि खाइने ओमेगा–३ सप्लिमेन्टले केही विशेष अवस्थाका बिरामीहरूमा भने नकारात्मक असर पुर्याइरहेको अध्ययनले देखाएको हो।
अध्ययनका अनुसार जो व्यक्तिहरू पहिले नै उच्च जोखिममा छन् उनीहरूमा ओमेगा–३ को सेवनले संज्ञानात्मक क्षमता (सोच्ने र सम्झने शक्ति) मा ह्रास आउने प्रक्रियालाई झन् तीव्र बनाएको पाइएको छ। अहिलेसम्म ओमेगा–३ लाई मस्तिष्कका लागि पूर्ण रूपमा सुरक्षित र लाभदायक मानिंदै आइएको थियो।
अध्ययनले औंल्याए अनुसार उच्च जोखिममा रहेका बिरामीहरूको स्वास्थ्यमा सुधार ल्याउनुको सट्टा यसले मानसिक गिरावटको गतिलाई बढावा दिएको देखिएको हो। यसले कुनै पनि स्वास्थ्य सप्लिमेन्ट सबैका लागि सधैं उपयोगी नहुन सक्ने र यसको प्रयोग गर्दा व्यक्तिगत स्वास्थ्य अवस्थालाई मध्यनजर गर्नुपर्ने निष्कर्ष निकालेको छ।
विशेषगरी गम्भीर स्वास्थ्य समस्या भएका वा अल्जाइमर जस्ता रोगको जोखिममा रहेकाहरूले चिकित्सकको सल्लाह विना ओमेगा–३ सप्लिमेन्ट प्रयोग गर्दा थप जोखिम निम्तिन सक्ने अध्ययनमा खुलेको हो।












