बाटो छेकी घाँटीको गरगहना लूटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं । धनकुटा नगरपालिका–७ स्थित मदन चोकमा मोटरसाइकलमा आई बाटोमा हिंडिरहेकी महिलाको घाँटीको गरगहना लूटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
वैशाख २५ गते दिउँसो १२ः४५ बजेको समयमा मदन चोकस्थित एकान्त बाटोमा हिंडिरहेकी शहीदभूमि गाँ.पा–१ की ४० वर्षीय विष्णु कुमारी राईलाई प्र.३–०२–०१३ प ८००१ नम्बरको बुलेट र बा८२प ९५६४ नम्बरको एनएस गरी दुई मोटरसाइकलमा आएका अपरिचित तीन जनाले लूटपाट गरेका थिए।
उनीहरूले महिलालाई बोले कराएमा ज्यानै लिने धम्की दिंदै बाटो छेकेर घाँटीमा लगाएको १ तोला २ आनाको सुनको गहना सिक्री चोरी गरी फरार भएका थिए। प्रहरीमा उजुरी परेपछि खोजतलासको क्रममा वैशाख २६ गते राती साढे १० बजेको समयमा होटलमा लुकेर बसको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–६ बस्ने ३० वर्षीय धनबहादुर भन्ने दान बहादुर तामाङ, सोही ठाँउका ३३ वर्षीय प्रेमलाल घिसिङ र सोही नगरपालिकाको वडा नं. १० बस्ने ३८ वर्षीय राजु तामाङ रहेका छन्।
उनीहरूको साथबाट पँहेलो धातुको लकेट सहितको सिक्री १ थान, लकेट बिनाको सिक्री १ थान, सिक्रीको लकेट मात्र १ थान, तिलहरी १ थान, कानको बेरुवा कुण्डल २ थान, बेरुवा औंठी १ थान, कसूरमा प्रयोग भएको मोटरसाइकल र ६ थान मोबाइल समेत बरामद भएको छ।












