प्रतिनिधिसभाको बैठकमा आज पनि बालेन बोल्ने र नबोल्नेमा छैन टुंगो

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि आजै छ ।
‘प्रधानमन्त्री वालेन्द्र शाहले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ।व। २०८३र०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने’ दोस्रो कार्यसूची छ ।
तर, प्रधानमन्त्री शाह जवाफका लागि संसद्मा उपस्थित हुने सुनिश्चितता नरहेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।
प्रधानमन्त्रीले अर्को मन्त्रीलाई समेत जवाफ दिन पठाउन सक्दछन् । यही अधिकार प्रयोग गरेर उनी बुधबार प्रतिनिधिसभाको बैठकमा गएका थिएनन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भनेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
तेस्रो कार्यसूचीमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने रहेको छ ।
सभामुखले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने चौथो कार्यसूची छ ।
पाँचौं कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने रहेको छ ।












