अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका धेरै हुनेमा अर्थसचिव उपाध्यायको जोड

३१ बैशाख २०८३, बिहीबार ११:५७

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । अहिलेको अर्थतन्त्रका लागि निजी क्षेत्रको ठूलो सहयोग चाहिएको उनको भनाइ छ । उनले सरकारको पहिलो प्राथमिकता सुशासन, त्यसपछि आर्थिक सुधार र पूर्वाधार विकास रहेको स्पष्ट पारे ।

उनका अनुसार लगानी नै आर्थिक सुधारको मुख्य आधार हो । विगतमा सरकारले लिएका नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्दै गएको र जलविद्युत् क्षेत्रमा १८ घण्टाको लोडसेडिङबाट विद्युत् निर्यात गर्ने अवस्थासम्म पुगेको उदाहरण उनले प्रस्तुत गरे ।

उपाध्यायले आयात प्रतिस्थापन र उत्पादनमुखी क्षेत्रलाई सहजीकरण गर्ने नीति सरकारले अघि बढाएको उल्लेख गर्दै अहिले सबैभन्दा आवश्यक कुरा निजी क्षेत्रको विश्वास र सुरक्षा भएको बताए । उनले निजी क्षेत्रले सम्पत्तिको सुरक्षा, लगानीको सुरक्षा तथा स्थायित्वको ग्यारेन्टी खोजिरहेको बताए ।

साथै सार्वजनिक पूर्वाधार विकास र नाफामूलक आयोजनामा निजी क्षेत्रलाई सरकारसँग सहकार्य गराएर अघि बढाउने नीति लिइने संकेत पनि उनले दिए । आगामी आर्थिक वर्षको बजेटले विशेषगरी अधुरा आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्ने उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*