सर्वसाधारणलाई खुलाइएको स्नो रिभर्सको आईपीओ आजबाट बन्द हुँदै

काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिक्री प्रक्रिया आजदेखि बन्द हुने भएको छ। कम्पनीले आज जेठ १ गते बैंकिङ समयपछि आवेदन संकलन बन्द गरिने जनाएको हो।
कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये आधा अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने बाँकी ९ लाख ३७ हजार ५०० कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिएको थियो।
सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि तथा १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो। यी सबै छुट्याइ सकिएपछि बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको थियो।
आईपीओ बिक्री गत वैशाख २९ गतेदेखि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।












