आधा जनसंख्या बीमाको दायरा बाहिर हुनु प्राधिकरणका लागि ठुलो चुनौती र जिम्मेवारी पनि होः कार्यकारी निर्देशक

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले करिब आधा जनसंख्या बीमाको दायरा बाहिर रहेको अवस्था हाम्रा लागि ठुलो चुनौती र जिम्मेवारी पनि हो ।
स्थापनाको ५७ औं वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले अध्यक्ष सञ्चालक, बीमक, बीमित, बीमा मध्यस्थकर्ता, प्राधिकरणका सहकर्मी कर्मचारी मित्रहरू एवं समस्त सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
बार्षिकोत्सवको अवसरमा सुवेदीले चैत मसान्तसम्म कुल जनसंख्याको ५०.३१ प्रतिशतमा जीवन बीमाको पहुँच पुग्नु, कुल लगानी रु. ९ खर्ब ६ अर्ब नाघ्नु र बीमकहरूको वित्तीय विवरण समयमै स्वीकृत भई वित्तीय अनुशासन कायम हुनुले बीमा क्षेत्रको परिपक्वता र हाम्रो सामूहिक प्रयासको सार्थकतालाई पुष्टि गरेकोे बताएका छन् ।
तथापि, अझै करिब आधा जनसंख्या बीमाको दायरा बाहिर रहेको अवस्था हाम्रा लागि ठुलो चुनौती र जिम्मेवारी पनि हो । आगामी दिनमा प्राधिकरणको व्यवस्थापकीय नेतृत्वका तर्फबाट बीमा सेवालाई प्रविधिमैत्री बनाउन डिजिटल रूपान्तरणमा विशेष जोड दिइनेछ। संस्थागत सुशासन र नियमनकारी प्रभावकारितालाई सुदृढ बनाउँदै बीमा बजारलाई थप सुरक्षित र मर्यादित बनाउन हामी निरन्तर क्रियाशील रहने उनले बताएका छन् ।
प्राधिकरणको यस गरिमामय यात्रामा अहोरात्र खटिने अर्थ मन्त्रालय, सञ्चालक समिति, कर्मचारी साथीहरू, बीमा क्षेत्र एवम् सम्पूर्ण विकास साझेदारहरूको सहयोग र समन्वयप्रति आभार व्यक्त गरेका छन् । आगामी दिनमा हामी सबैको एकजुट प्रयासबाट नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, विश्वसनीय र दीगो बनाउन सकिनेछ भन्ने पूर्ण विश्वास उनले लिएका छन् ।












