दुईवटा ट्रकमा भेटियो एक लाख २० हजार थान अवैध भेप, तस्करीमा भिआईपीकै संलग्नता !

काठमाडौं । एउटा व्यापारिक गिरोहले गरेको सेटिङ नमिलेपछि मुस्ताङको कोराला नाकामा एक लाख २० हजार थान अवैध भेप बरामद गरिएको छ । गत शुक्रबार राति नेपाल आउँदै गरेको ना६ख ४८४३ र ना५ख ७९२१ नम्वरका दुईवटा ट्रकमा अवैध भेप नेपाल भित्रदै गरेको सूचना पाएपछि भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।
हिजो दिनभर र रातिसम्म गरिएको गणनामा कूल एक लाख २० हजार थान प्रतिबन्धित भेप रहेको तथ्य खुलेको छ । उक्त भेप ल्याउने कार्यमा संलग्न दुई जना ट्रक चालकहरु सन्तोष लामा र फुन्जु दोर्जे लामालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । सो घटनामा जोडिएका रविन्द्र दर्नाल नामक व्यक्ति पनि पक्राउ परेका छन् ।
पक्राउ परेका दर्नाल गाडी नियन्त्रणमा लिन खोज्ने वित्तिकै भागिसकेका थिए । उनलाई प्रहरीले मुस्ताङको लेतेबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । हालसम्म तीन जना मात्रै पक्राउ परेको सो घटनामा उच्च तहका भिभिआईपी व्यक्तिहरु संलग्न रहेको विश्वास गरिएको छ ।
उत्तरी क्षेत्रका व्यापारीहरुका अनुसार यस्तो समयमा दुई चार सय थानभन्दा बढि भेप आयात गर्न सक्ने अवस्था छैन । चौतर्फी रुपमा कडाई गरिएको समयमा रातारात भेप आयात गर्नुमा उच्च स्तरीय समन्वय रहेको विश्वास गरिएको छ ।
नेपालमा भेप प्रतिबन्धित छ । प्रतिबन्धित भेप आयात गरी बजारमा बिक्री वितरण गर्दा धेरै नै फाइदा हुने हुँदा अवैध रुपमा आयात गरी बिक्री वितरण गरिन्छ । स्रोतका अनुसार सरकारी तहमा सेटिङ नभई करोडौं मूल्यको भेप ल्याउने हिम्मत कसैले पनि गर्दैन । अहिलेको बजारमूल्य अनुसार एक लाख २० हजार थान भेपको मूल्य ८० करोड भन्दा बढि पर्दछ । सो आधारमा सो काण्डमा कानुनी कारवाहीमा जाँदा करिब दुई अर्बभन्दा बढि जरिवना र धरौटी तिर्नुपर्दछ । यति ठूलो जोखिम मोलेर भेप ल्याउने कार्यमा एक भिआईपी महिलासहितको संलग्नता रहेको बताइएको छ । यद्यपि यसको स्वतन्त्र छानविन हुनेमा आशंका रहेको छ ।
करोडौं मूल्यको भेप सेटिङ हानेर नेपालतिर प्रवेश पाइसकेको थियो । बाहिर लुगा र जुत्ता राखेर भित्र भेपले गरिएको गाडी भन्सार पार गरेपछि कोरोला भन्सार प्रमुखको सक्रियतामा पक्राउ गरिएको थियो ।












