ईभी मोटर क्षमतामा फैलिँदै भ्रम, स्पष्ट प्राविधिक मापदण्ड बनाउन नाइमाको माग

३ जेष्ठ २०८३, आईतवार १०:२५

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता सम्बन्धमा विभिन्न माध्यमबाट भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) ले ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको बताएको छ ।

नाइमाले यस विषयलाई यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलमा समेत उठाएको जनाएको छ । संघका अनुसार नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन् ।

विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास रहेको उल्लेख गर्दै नाइमाले केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय आधार नहुने जनाएको छ ।

संघका अनुसार हाल नेपालमा इभि सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन । यही अस्पष्टताका कारण विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न भइरहेको नाइमाको भनाइ छ ।

नाइमाले इभि सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्ने धारणा राखेको छ । साथै, सम्बन्धित सरकारी निकायहरूबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

संघले विद्युतीय सवारी साधनलाई नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ । इभि क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा समग्र ऊर्जा र यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुगिरहेको नाइमाको दाबी छ ।

नाइमाले राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको यस क्षेत्रसँग सम्बन्धित विषयलाई तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मूल्याङ्कन गर्नुपर्ने उल्लेख गरेको छ । अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने संघको भनाइ छ ।

यस सन्दर्भमा नाइमाले सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा मञ्च हो । “सबैका लागि गतिशीलता” को अवधारणालाई आत्मसात गर्दै संस्थाले सरकार तथा निजी क्षेत्रसँग सहकार्य गरी गतिशीलतामार्फत आर्थिक वृद्धि, औद्योगिक विकास तथा समावेशी पहुँच विस्तारका लागि सक्रिय रूपमा काम गर्दै आएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*