१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा सबैभन्दा धेरै

३ जेष्ठ २०८३, आईतवार १५:१६

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा ७२८ परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको हो।

विभागका तथ्याङ्कअनुसार गत चैत मसान्तसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो। त्यसपछि एक महिनाको अवधिमा थप परियोजनाहरू स्वीकृत भएसँगै कुल लगानी प्रतिबद्धता बढेको देखिएको छ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ। यस क्षेत्रमा रहेका १६ परियोजनामार्फत २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन समग्र प्रतिबद्धताको ठूलो हिस्सा हो।

त्यसैगरी पर्यटन क्षेत्रतर्फ १८९ परियोजनामार्फत १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। सेवामूलक क्षेत्रका ५५ परियोजनामार्फत ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको विभागले जनाएको छ।

उत्पादनमूलक उद्योगतर्फ ४२ परियोजनामार्फत २ अर्ब ७० करोड रुपैयाँ, पूर्वाधार क्षेत्रमा एक परियोजनामार्फत १ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

सूचना प्रविधि (आईटी) क्षेत्रमा भने ४२१ परियोजनामार्फत १ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। ऊर्जामूलक क्षेत्रमा दुई परियोजनामार्फत २३ करोड ४२ लाख रुपैयाँ तथा खनिज क्षेत्रमा दुई परियोजनामार्फत ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। वैशाख महिनामा मात्र ११३ परियोजनामार्फत ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको तथ्याङ्कले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*