ग्राहकको पैसा चोर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी कारागार चलान

३ जेष्ठ २०८३, आईतवार १७:१५

काठमाडौँ । ग्राहकको खातामा रहेको रकम अनधिकृत रूपमा आफ्नो खातामा सारेर हिनामिना गरेको आरोपमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तौलिहवा शाखाका कर्मचारी रिसभ कार्की कारागार चलान भएका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार कार्कीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार पठाइएको हो।

न्यायाधीशद्वय रमेश ढकाल र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले धरौटी माग गर्ने आदेश गरेको थियो । अनुसन्धानका क्रममा कार्कीले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर हुँदा ग्राहकलाई सूचना नजाने व्यवस्था मिलाएर कनेक्ट आईपीएस प्रयोग गरी विभिन्न खाताबाट करिब १ करोड ६५ लाख रुपैयाँ आफ्नो खातामा सारेको खुलेको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय पकडीको टोलीले उनलाई चैतको पहिलो साता पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले बैंकिङ कारोबार, डिजिटल ट्रान्सफर विवरण तथा सम्बन्धित खाताको अध्ययन गर्दै लामो समय अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले करिब डेढ महिनाको अनुसन्धानपछि बैंकिङ कसुर तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगमा कार्कीविरुद्ध मुद्दा अघि बढाएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*