भारतमा चाँदी आयातमा कडा अंकुश, विदेशी मुद्रा जोगाउन ‘प्रतिबन्धित श्रेणी’मा राखियो चाँदी कारोबार

३ जेष्ठ २०८३, आईतवार १७:४६

काठमाडौं । वैदेशिक मुद्रा सञ्चिति जोगाउन तथा बढ्दो व्यापार घाटा नियन्त्रण गर्ने उद्देश्यसहित भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नीति लागू गरेको छ ।

भारत सरकारले शनिबार जारी गरेको विशेष सूचनामार्फत चाँदी आयातलाई सीमित गर्ने निर्णय गरेको हो । यसअघि सहज र खुला रहेको चाँदी आयात प्रक्रियालाई अब ‘प्रतिबन्धित’ श्रेणीमा राखिएको छ ।

सरकारी सूचनाअनुसार अब शुद्ध चाँदी मात्र होइन, सुन वा प्लेटिनमको जलप लगाइएको चाँदीसमेत विदेशबाट आयात गर्न पूर्वसरकारी अनुमति अनिवार्य गरिएको छ । यसपछि कुनै पनि व्यवसायी वा कम्पनीले सरकारको विशेष अनुमति बिना चाँदी आयात गर्न पाउने छैनन् ।

यसअघि गत मे १३ मा भारत सरकारले सुन र चाँदी दुवैमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो ।

भारत विश्वमा सुन र चाँदीको सबैभन्दा ठूलो उपभोक्ता मुलुकमध्ये एक हो । चाडपर्व, विवाह तथा गरगहना प्रयोजनका कारण यहाँ यी बहुमूल्य धातुको माग उच्च रहने गर्छ । तर आन्तरिक उत्पादन नहुने भएकाले अर्बौं डलर खर्चेर आयात गर्नुपर्ने बाध्यता छ ।

पछिल्ला वर्षहरूमा विश्वव्यापी आर्थिक दबाब र ऊर्जा संकटका कारण भारतको वैदेशिक मुद्रा सञ्चितिमा चाप परिरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि नागरिकलाई विदेशी मुद्रा जोगाउन एक वर्षसम्म सुन नकिन्न, पेट्रोलियम पदार्थको खपत घटाउन तथा वैदेशिक भ्रमण नगर्न आग्रह गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*