लुम्बिनी विकास बैंकको साख घट्यो: कर्जा असुली कमजोर, निष्क्रिय कर्जा र जोखिम सूचक बढ्दै

३ जेष्ठ २०८३, आईतवार १९:११

काठमाडौँ ।  लुम्बिनी विकास बैंक लिमिटेडको वित्तीय साखमा थप कमजोरी देखिएको छ। इक्रा नेपालले बैंकको संस्थागत साख मूल्यांकनलाई घटाउँदै पहिलेको बीबी बाट घटाएर बीबी माइनसमा झारेको छ। यससँगै नकारात्मक निगरानी सूचीबाट हटाइएको भए पनि बैंकको वित्तीय स्वास्थ्यमा देखिएको दबाब अझै गहिरो रहेको संकेत गरिएको छ।

बैंकको कर्जा गुणस्तरमा लगातार गिरावट आउँदा समस्या झन् जटिल बन्दै गएको छ। गत वर्षको तुलनामा निष्क्रिय कर्जा अनुपात ६.७८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.६८ प्रतिशत थियो। त्यस्तै, गैर बैंकिङ सम्पत्तिसहित समायोजित निष्क्रिय कर्जा पनि बढेर ७.३ प्रतिशत पुगेको छ।

कर्जा असुलीमा देखिएको कमजोरीले बैंकको वित्तीय मजबुतीमा पनि असर पारेको छ। खुद निष्क्रिय कर्जा अनुपात खुद पुँजीसँग तुलना गर्दा करिब १६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष करिब १२ प्रतिशत थियो। निक्षेप संरचनामा समेत अपेक्षित सुधार नआउँदा चालु र बचत खाताको हिस्सा करिब ४६ प्रतिशतमा सीमित रहेको छ, जुन विकास बैंकहरूको औसत करिब ५२ प्रतिशतभन्दा कम हो।

ठूला ऋणीहरूमा केन्द्रित कर्जा प्रवाह पनि बैंकका लागि जोखिम कारक बनेको छ, जहाँ शीर्ष २० समूहको हिस्सा कुल कर्जाको करिब १७ प्रतिशत पुगेको छ। विकास बैंकका रूपमा रहेका संरचनात्मक सीमाहरू, सीमित वित्तीय उत्पादन तथा नियामक दायराले दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाइरहेको मूल्यांकन गरिएको छ।

साथै, आर्थिक सुस्तता र बाह्य मुलुकमा देखिएको तनावका कारण रेमिट्यान्स प्रवाहमा पर्ने सम्भावित दबाबले निक्षेप वृद्धि र ऋणीको ऋण तिर्ने क्षमतामा थप असर पार्न सक्ने चेतावनी पनि दिइएको छ। यद्यपि बैंकको सञ्चालन अनुभव, शाखा सञ्जाल र पूँजी पर्याप्ततामा केही आधार देखिए पनि समग्रमा सम्पत्ति गुणस्तर र आम्दानी क्षमतामा देखिएको गिरावटले लुम्बिनी विकास बैंकको वित्तीय अवस्था अझ चुनौतीपूर्ण बनेको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*