अवैध उत्खनन रोक्न प्रहरी सक्रियः धमाधम जेसीबी, टिप्पर र ट्र्याक्टर नियन्त्रणमा लिंदै

काठमाडौं । अवैध माटो उत्खनन रोक्न लुम्बिनी प्रदेश प्रहरीले सक्रियता देखाएको छ। प्रदेशभित्रका विभिन्न स्थानमा अवैध उत्खननमा प्रयोग भएका साधनहरूलाई धमाधम नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रुपन्देही र बर्दियाका विभिन्न स्थानमा अवैध रूपमा माटो उत्खनन तथा ढुवानी गरिरहेका सवारी साधनहरू नियन्त्रणमा लिई सम्बन्धित प्रहरी कार्यालयको जिम्मा लगाएको छ।
जेठ ३ गते आइतबार रुपन्देहीको धकधई तथा बर्दियाको मधुवन क्षेत्रमा सञ्चालन गरिएको कारबाहीका क्रममा जेसीबी, टिप्पर र ट्याक्टर गरी विभिन्न सवारी साधनहरू नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयले अवैध उत्खनन तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको लुम्बिनी प्रदेश प्रहरीले जानकारी दिएको छ।













