राताम्य यात्राले डुब्दै शेयर लगानीकर्ताः कारोबार साढे २ अर्बमा सीमित, सरकारसँग किन छन् त्रसित ?

४ जेष्ठ २०८३, सोमबार १५:०५

काठमाडौँ । पछिल्ला दिनहरूमा शेयर बजार निरन्तर सुस्त गतिमा देखिएको छ । कारोबार क्रमशः खुम्चिँदै जाँदा बजारमा समग्र दबाब बढेको छ । शुक्रबार झिनो सुधार देखिए पनि सोमबार पुनः बजार ओरालो लागेपछि लगानीकर्तामा निराशा थपिएको छ । निरन्तर गिरावटले साना तथा ठूला दुवै प्रकारका लगानीकर्ताको सम्पत्ति मूल्य घट्दै गएको देखिएको छ भने बजारको मनोवैज्ञानिक अवस्था पनि कमजोर बन्दै गएको विश्लेषण गरिएको छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत पूँजी बजारलाई प्राथमिकता दिएको दाबी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन । अपेक्षित सुधार नआउँदा लगानीकर्तामा रहेको आशा क्रमशः निराशामा बदलिँदै गएको छ । परिणामस्वरूप नयाँ खरिद चासो कमजोर बनेको छ भने बिक्री चाप बढ्दै गएर बजार थप दबाबमा परेको छ ।

पछिल्ला दिनहरूमा केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा अनिश्चितता झनै बढेको देखिन्छ । यस घटनाले लगानीकर्ताको आत्मविश्वासमा असर पारेको र जोखिम न्यूनीकरणका लागि धेरैले सेयर बिक्री बढाएको विश्लेषकहरूको भनाइ छ । यही मनोवैज्ञानिक दबाबले बजारको गिरावटलाई थप तीव्र बनाएको बताइन्छ ।

अर्कोतर्फ, कारोबार रकममा आएको उल्लेख्य गिरावटले बजारको सहभागिता कमजोर हुँदै गएको संकेत गरेको छ । केही महिनाअघि दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने बजार अहिले २ देखि ३ अर्ब रुपैयाँको सीमामा सीमित हुन थालेको छ । यसले बजारमा तरलता घट्दै गएको र लगानीकर्ताको सक्रियता कमजोर बनेको स्पष्ट संकेत दिएको छ ।

नयाँ सरकार गठनअघि देखिएको उत्साह पनि अहिले क्रमशः हराउँदै गएको छ । सरकार गठनपछि विभिन्न सुधारका प्रयास भए पनि बजारले अपेक्षित गति लिन सकेको छैन । नीतिगत स्थिरता र विश्वासको अभावका कारण लगानीकर्तामा प्रतीक्षात्मक मनोवृत्ति बढेको देखिन्छ, जसले बजारलाई थप सुस्त बनाएको छ ।

यद्यपि, आधारभूत पक्ष भने पूर्ण रूपमा कमजोर नभएको विश्लेषकहरू बताउँछन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिएको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधि विस्तार हुने संकेतले दीर्घकालमा बजारलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । तत्कालीन अस्थिरताबीच पनि दीर्घकालीन दृष्टिकोणले बजारप्रति आशा कायमै रहेको विश्लेषण छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०३ अकंले घटेर २७३०.९१ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ५ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ८ उपसूचक ओरालो लागेको हो । सोमबार ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*