एलएस होराइजन १२ को इकाईमा आवेदन दिने अवधि थप

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वैशाख ३० गतेदेखि निष्काशन गरिरहेको सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाईमा आवेदन दिने अवधि थप गरिएको छ।
यसअघि निष्काशन बन्द छिटोमा जेठ ४ गते हुने भनिएकोमा न्यून आवेदन परेपछि अवधि थप गरेर जेठ १३ गतेसम्म कायम गरिएको हो। यद्यपि सो अगावै माग बमोजिम आवेदन परेमा जुनसुकै दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ।
यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १२ करोड इकाई बिक्रीमा ल्याइएको हो। जसमध्ये बिज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा खुला गरिएको हो।
यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यो लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १२ वर्षे अवधिको बन्दमुखी योजना हो।












