घुस सहित समातिएका मालपोत कार्यालयका नासुविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ओम बहादुर खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम गर्ने तथा नामसारी सम्बन्धी काम गरिदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीबाट घुस मागिएको भन्ने सूचना र उजुरीपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पक्राउ पर्दा उक्त रकम समेत बरामद गरिएको थियो।
अनुसन्धानका क्रममा खाम्चाले जिर्ण श्रेष्ता कायम गर्ने, अपुताली जग्गाको नामसारी तथा दाखा सम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग मोलमोलाई गरेर २ लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको भनाइ छ। आयोगले उनीविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गरेको छ। साथै सोही बराबर जरिवाना र कानुनअनुसार कैद सजायको माग गर्दै आरोपपत्र दायर गरिएको हो।












