बालेन सरकार बनेयता एक लाख बढीले छाडे देश

५ जेष्ठ २०८३, मंगलवार १३:३८

काठमाडौं । नेपाली युवाहरूको कहालीलाग्दो विदेश पलायन नेपालको प्रमुख समस्याहरूमध्ये एक हो। देशमा रोजगारीको चरम अभाव, योग्यताअनुसार काम नपाइनु, गरिबी र न्यून आम्दानीका कारण दैनिकजसो हजारौंले देश छाडिरहेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चैत्र महीनामा मात्र ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन् भने वैशाख महीनामा यो संख्या ७४ हजार ४२९ पुगेको छ। यसरी दुई महीनामै १ लाख ३६ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्।

यसो त विदेश पलायन नौलो समस्या होइन। दशकौंदेखि वैदेशिक पलायनको प्रवृत्ति बढ्दै गए पनि नयाँ सरकार गठन भएयता प्रारम्भिक चरणमा नै यति ठूलो संख्यामा युवाहरू बाहिरिनुले स्वदेशमा रोजगारी सिर्जनाको डरलाग्दो अवस्थालाई देखाएको छ। बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेर देशको बागडोर हाँकिरहेका छन्। यस्तोमा अब उनले युवा पलायनलाई रोक्न कस्तो नीति र योजना ल्याउलान् त्यो भने हेर्नै बाँकी छ। हालसम्म भने यस विषयमा बालेन नेतृत्वको सरकारले कुनै ठोस कदम चालेको छैन।

रास्वपाले चुनावी मैदानमा जाँदा नै सुशासन, आर्थिक सुधार र युवा स्वरोजगारलाई प्राथमिकतामा राखेर देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको थियो। तर विभागको तथ्यांकले देखाएअनुसार उक्त अवधिमा दैनिक औसत दुई हजारभन्दा बढी युवाहरू वैदेशिक रोजगारीको खोजीमा विदेशिएका छन्। विदेश पलायन हुनेमा महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक रहेको छ। यद्यपि पछिल्लो समय महिलाहरूको सहभागिता पनि उल्लेख्य रूपमा बढ्दै गएको छ।

युवा पलायनको मुख्य कारण स्वदेशमा पर्याप्त र सम्मानजनक रोजगारीको अभाव, निजी क्षेत्रको लगानीमा सुस्तता मुख्य कारण हो। रेमिट्यान्सले अर्थतन्त्रलाई केही हदसम्म धाने पनि दीर्घकालीन रूपमा दक्ष जनशक्ति गुमाउँदा विकास निर्माण, कृषि र उत्पादनको क्षेत्रमा श्रम अभाव बढ्दै गएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*