वैदेशिक रोजगार व्यवसाय कोषको रकम दुरुपयोग, विभागले अतिथि सत्कारदेखि भ्रमणसम्ममा खर्चियो ८४ लाख

५ जेष्ठ २०८३, मंगलवार १५:४४

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय कोषको रकम नियमविपरीत खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विभागले कोषबाट ८४ लाख ९२ हजार रुपैयाँ प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय सामान खरिद र अतिथि सत्कारमा खर्च गरेको देखिएको हो ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २५(३) बमोजिम इजाजत माग गर्ने संस्थाबाट प्राप्त धरौटी रकमको ९० प्रतिशत रकम मुद्दती खातामा लगानी गरी त्यसबाट प्राप्त ब्याजको २५ प्रतिशत रकम वैदेशिक रोजगार व्यवसाय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै, नियम २५(४) अनुसार उक्त कोषको रकम इजाजतपत्रवालाको व्यावसायिक क्षमता अभिवृद्धि, कल्याणकारी कार्य तथा वैदेशिक रोजगारसम्बन्धी अध्ययन र अनुसन्धानका कार्यमा मात्रै उपयोग गर्नुपर्ने उल्लेख छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभागले धरौटीबापत प्राप्त पाँच अर्ब १३ करोड रुपैयाँ विभिन्न ६ वाणिज्य बैंकको मुद्दती खातामा लगानी गरेको थियो । उक्त लगानीबाट २५ करोड ८३ लाख ३४ हजार रुपैयाँ ब्याज आम्दानी भएकोमा १० करोड ६९ लाख ७८ हजार रुपैयाँ वैदेशिक रोजगार बोर्डमा पठाइएको उल्लेख छ ।

तर, कोषमा जम्मा भएको रकम नियमावलीमा तोकिएको उद्देश्यअनुसार खर्च नगरी अन्य प्रशासनिक तथा आतिथ्य सम्बन्धी शीर्षकमा खर्च गरिएको महालेखाले औँल्याएको छ ।

‘कोषमा जम्मा भएको रकम नियमावलीमा तोकिएको कार्यमा उपयोग गर्नुपर्नेमा विभागले प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय सामान खरिद र अतिथि सत्कारमा समेत ८४ लाख ९२ हजार रुपैयाँ खर्च गरेको पाइयो । नियमावलीमा व्यवस्था गरेको शीर्षकमा खर्च गर्नुपर्दछ’ प्रतिवेदनमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*