भिजिट भिसा प्रकरणका सरकारी साक्षीले फेरे बयान, अख्तियारले चलायो मुद्दा

काठमाडौं । भिजिट भिसाको सेटिङ मिलाएर घुस/रिसवत लिएर मानिस विदेश पठाउने प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दिपक थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका–३ स्थायी घर भएका तथा डीएमसी पोखरा प्रा.लि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
यो मुद्दा यसअघि दायर भएको नेपाल सरकार विरुद्ध तत्कालीन सहसचिव तिर्थराज भट्टराईसमेत रहेको घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी प्रकरणसँग जोडिएको छ। उक्त मुद्दामा उनी पनि संलग्न रहेको भए तापनि अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै उनलाई सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो।
तर विशेष अदालत काठमाडौंमा २०८३ वैशाख १५ गते बकपत्र गर्ने क्रममा उनले अख्तियारसमक्ष दिएको बयान र आरोप मागदाबी विपरीत हुने गरी बयान दिएको पाइएपछि उनी विरुद्ध मुद्दा चलाइएको हो। उनले बयान फेरेपछि अख्तियारले उनीविरुद्ध थप अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानबाट दिपक थापाले एयरपोर्ट अध्यागमनमा यात्रु विदेश जानुअघि नाम टिपाउने, होटल बुकिङका कागजात मिलाउने, डलर सटहीको व्यवस्था गर्ने लगायतका काम आफ्नै कम्पनीमार्फत गर्ने गरेको खुलेको छ। अख्तियारका अनुसार उनले बदनियतपूर्वक सेटिङ मिलाई भिजिट भिसामा मानिस विदेश पठाउने कार्य गर्दै आएका थिए।
आयोगले उनी प्रतिवादी बालकृष्ण खड्काका सहयोगीका रूपमा काम गर्दै तिर्थराज भट्टराई लगायतलाई घुस/रिसवत दिन सहयोगी बनेको निष्कर्ष सहित ३० लाख २० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता गरेको हो।












