निर्वाचन खर्च सार्वजनिक : प्रतिमतदाता २६३ रुपैयाँ खर्च, ४ अर्ब ९६ करोडमा सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले २०८२ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ। आयोगको जेठ ५ गते बसेको बैठकको निर्णयअनुसार उक्त खर्च विवरण सार्वजनिक गरिएको हो।
आयोगका अनुसार २०८२ साल फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनका लागि नेपाल सरकारबाट कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो। सोमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्र खर्च भएको आयोगले जनाएको छ।
विज्ञप्तिअनुसार कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको देखिएको छ।
आयोगले निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ को दफा ३६ तथा शासकीय सुधार सम्बन्धी कार्ययोजना, २०८२ बमोजिम एकीकृत हिसाब सार्वजनिक गरेको हो। यस खर्च विवरणमा निर्वाचन आयोग र मातहतका कार्यालयहरूको बजेट निकासा, खर्च, राजस्व र धरौटीसमेतका समग्र पक्ष समेटिएका छन्।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, कोष नियन्त्रक लगायत सम्पूर्ण कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिएको छ।












