अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले बजारबाट उठाउँदै ३० अर्ब

६ जेष्ठ २०८३, बुधबार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ९१ दिनका लागि उठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन् । न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा पछिल्लो समय लगानीयोग्य रकम थुप्रिँदै गएपछि तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन, रिभर्स रिपो तथा अन्य मौद्रिक उपकरण प्रयोग गर्दै बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ ।

विशेषगरी कर्जा प्रवाह अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । यसले अन्तरबैंक ब्याजदरमा दबाब सिर्जना गर्नुका साथै मौद्रिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*