चीनले अमेरिकाबाट २०० वटा विमान खरिद गर्ने

६ जेष्ठ २०८३, बुधबार १३:४५

काठमाडौं । चीनले अमेरिकाबाट २०० वटा विमान खरिद गर्ने भएको छ । चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट २०० वटा विमान खरिद गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच गत हप्ता बेइजिङमा भएको भेटवार्तापछि यो सम्झौता अघि बढेको बताइएको छ । चीनको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको विवरणअनुसार यस सम्झौताअन्तर्गत अमेरिकाले विमानका इन्जिनका पार्टपुर्जा तथा अन्य आवश्यक सामग्रीहरूको आपूर्तिको सुनिश्चितता गर्नेछ ।

दुवै देशले गत वर्ष अक्टोबरमा भन्सार युद्ध रोक्ने सहमति कार्यान्वयनलाई थप विस्तार गर्ने दिशामा सहकार्य गर्ने सहमति पनि गरेका छन् । यसै क्रममा कम्तीमा ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुहरूमा भन्सार महसुल कटौती गर्ने प्रयास गर्ने उल्लेख गरिएको छ ।

यो घोषणा त्यस्तो समयमा आएको हो, जब सी चिनपिङले बेइजिङमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका छन् । ट्रम्पले गत शुक्रबार चीन भ्रमण पूरा गरेपछि अमेरिकी राष्ट्रपति विमानमा पत्रकारहरूसँग कुरा गर्दै यो सम्झौता पुष्टि गरेका थिए । उनले चीनसँग विभिन्न महत्वपूर्ण व्यापारिक सम्झौताहरू भएको दाबी गर्दै बोइङका २०० भन्दा बढी विमानको सम्झौता त्यसमा प्रमुख रहेको बताएका थिए । साथै चीनले भविष्यमा ७५० वटासम्म विमान खरिद गर्न सक्ने प्रतिबद्धता समेत व्यक्त गरिएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*