मलमास र इन्धन खर्चको दबाबले बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा उडान स्थगित

काठमाडौँ । करिब पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा हवाई उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको आगमन घट्नु, मलमासका कारण यात्रुको चाप न्यून हुनु तथा इन्धन खर्च वृद्धि हुनुजस्ता कारण देखाउँदै उडान सेवा अस्थायी रूपमा रोकिएको हो।
बुद्ध एयर, नेपालगञ्ज स्टेसनका प्रमुख विनितविक्रम शाहका अनुसार पछिल्लो समय भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा घटेको र सञ्चालन लागत बढ्दै जाँदा नियमित उडानलाई निरन्तरता दिन कठिन भएको हो। उनका अनुसार मलमासको एक महिनाको अवधिमा भारतबाट आउने पर्यटक लगभग शून्यजस्तै भएपछि यात्रु अभावले सेवा स्थगन गर्नुपर्ने अवस्था आएको हो।
विसं २०७८ साउन १७ गतेदेखि सुरु गरिएको नेपालगञ्ज–पोखरा सिधा उडान सुरुमा हप्तामा तीन दिन सञ्चालन हुँदै आएको थियो। पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहज आवागमनको उद्देश्यसहित सुरु गरिएको यो सेवा मंगलबारदेखि अनिश्चित समयका लागि स्थगित गरिएको हो।
उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी तथा सर्वसाधारण प्रभावित भएका छन्। छोटो समयमा पोखरा पुग्ने सुविधा गुमेपछि अब यात्रुहरू पुनः सडकमार्गमार्फत करिब १४ घण्टासम्मको लामो यात्रा गर्न बाध्य भएका छन्। यसले समय र लागत दुवै बढाएको सरोकारवालाहरूको भनाइ छ।
एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जको पहलमा सुरु गरिएको यो सिधा हवाई सेवा स्थानीय पर्यटन प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिँदै आएको थियो। नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले नियमित तालिकाअनुसार सञ्चालन हुँदै आएको उडान अब अनिश्चित बनेको बताएका छन्। उनका अनुसार निजी क्षेत्रको प्रयासमा सुरु भएको सेवा दीर्घकालीन रूपमा टिकाउन सरकारी समर्थन आवश्यक भए पनि पर्याप्त पहल नहुँदा सेवा प्रभावित भएको हो।
सिधा उडान सञ्चालनमा आएपछि पोखरा, नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारा जस्ता पर्यटकीय गन्तव्यमा आवागमन सहज बनेको थियो। त्यस्तै भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पनि पोखरा आवतजावत गर्न सजिलो भएको थियो, जसले क्षेत्रीय पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि भएको थियो।
उडान सुरु हुँदा न्यूनतम भाडा चार हजार ९३५ रुपैयाँदेखि अधिकतम सात हजार ६३५ रुपैयाँसम्म निर्धारण गरिएको थियो। यात्रुको माग बढ्दै गएपछि दैनिक उडान विस्तार गर्ने योजना समेत अघि सारिएको भए पनि पछिल्लो समय इन्धन मूल्य वृद्धि र यात्रु संख्या घटेसँगै सेवा निरन्तरता दिन कठिन भएको बुद्ध एयर नेपालगञ्जले जनाएको छ।












