ओरालो यात्रामा ब्रेकः बजार दोहोरो अकंले बढ्दा १३ वटै उपसूचक हरियाली, के छन् बढ्ने आधार ?

काठमाडौँ । लामो समयदेखि सुस्त गतिमा रहेको शेयर बजारमा आज भने सुधार देखिएको छ । लगातारको गिरावट र अनिश्चिततापछि बजार सूचक दोहोरो अंकले बढे पनि समग्र माहोलमा उल्लेख्य उत्साह देखिएको छैन । लगानीकर्ताको मनोबल अझै कमजोर रहेको र हालको सुधारलाई धेरैले अस्थायी मानिरहेका छन् ।
कारोबार रकममा सामान्य सुधार देखिए पनि बजारको समग्र गतिविधि अझै सुस्त नै छ । केही समयअघि दैनिक २० अर्ब रुपैयाँभन्दा बढीसम्म पुगेको कारोबार हाल घटेर २ देखि ३ अर्ब रुपैयाँको सीमामा सीमित हुन थालेको छ । यसले बजारमा सहभागिता घट्दै गएको र लगानीकर्ताको सक्रियता कमजोर बन्दै गएको संकेत गरेको छ ।
सरकारले पूँजी बजारलाई नीति तथा कार्यक्रममार्फत प्राथमिकतामा राखेको दाबी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन । अपेक्षित सुधार नआउँदा लगानीकर्तामा बनेको प्रारम्भिक आशा क्रमशः कमजोर हुँदै गएको छ, जसले नयाँ खरिद चासोलाई समेत सीमित बनाएको छ ।
पछिल्ला दिनहरूमा केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा थप अनिश्चितता बढेको विश्लेषण गरिएको छ । यसले लगानीकर्ताको विश्वासमा असर पारेको र जोखिम न्यूनीकरणका लागि बिक्री दबाब बढाएको देखिन्छ, जसको प्रत्यक्ष प्रभाव सूचकमा परेको छ ।
नयाँ सरकार गठनअघि देखिएको उत्साह पनि क्रमशः हराउँदै गएको छ । सरकार गठनपछि विभिन्न सुधार प्रयास भए पनि बजारले अपेक्षित गति लिन सकेको छैन । नीतिगत स्थिरता र विश्वासको अभावका कारण लगानीकर्तामा प्रतीक्षात्मक मनोवृत्ति हाबी भएको छ, जसले बजारलाई अझै दबाबमा राखेको छ ।
यद्यपि, आधारभूत पक्ष भने पूर्ण रूपमा कमजोर छैनन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिएको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु तथा आर्थिक गतिविधि विस्तार हुने संकेतले दीर्घकालमा बजारलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०८ अकंले बढेर २७५४.४८ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । १ कम्पनीको शेयर मूल्य मात्रै स्थिर रहेको हो ।













