एआईबाट नाफा आठ गुणा बढेपछि सामसुङमा बोनस विवाद, १८ दिने हडतालको चेतावनी

काठमाडौँ । दक्षिण कोरियाको प्रविधि क्षेत्रमा विश्वव्यापी प्रभाव राख्ने सामसुङ इलेक्ट्रोनिक्समा तलबसम्बन्धी वार्ता असफल भएपछि हडतालको सम्भावना तीव्र बनेको छ । व्यवस्थापन र श्रमिक युनियनबीच बुधबार भएको अन्तिम चरणको वार्ता निष्कर्षविहीन बनेपछि देशको प्रमुख चिप तथा इलेक्ट्रोनिक्स उद्योगमा ठूलो अवरोध आउने चिन्ता बढेको हो ।
करीब ७४ हजार कामदारको प्रतिनिधित्व गर्ने युनियनले कृत्रिम बौद्धिकता प्रविधिको विश्वव्यापी विस्तारसँगै कम्पनीको नाफा उल्लेखनीय रूपमा बढे पनि कर्मचारीलाई त्यसअनुसारको सुविधा र क्षतिपूर्ति नदिएको आरोप लगाएको छ । माग पूरा नभए बिहीबारदेखि १८ दिनसम्म हडतालमा उत्रिने चेतावनी पनि युनियनले दिएको छ ।
संभावित हडतालले दक्षिण कोरियाको निर्यात–निर्भर अर्थतन्त्रमा असर पार्न सक्ने भन्दै सरकारसमेत सक्रिय बनेको छ । सरकारी अधिकारीहरूले आवश्यक परे दुर्लभ रूपमा प्रयोग गरिने आपतकालीन अधिकार प्रयोग गरेर सम्झौता गराउने चेतावनी दिएका छन् । विशेषगरी सेमिकन्डक्टर उत्पादनमा अवरोध आए देशको प्रमुख निर्यात क्षेत्र प्रभावित हुने सरकारको चिन्ता छ ।
वार्ताको पछिल्लो चरण पनि कुनै सहमतिविना टुङ्गिएपछि युनियन नेता चोई सुङ–होले हडताल अब अपरिहार्य बन्दै गएको बताएका छन् । उनका अनुसार व्यवस्थापनले सरकारी मध्यस्थताको प्रस्तावसमेत अस्वीकार गरेको युनियनको आरोप छ । यद्यपि उक्त प्रस्तावबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
उता कम्पनी व्यवस्थापनले भने युनियनका माग अत्यधिक र अव्यावहारिक रहेको दाबी गरेको छ । विशेषगरी घाटामा रहेका एकाइहरूमा समेत उच्च बोनस र क्षतिपूर्ति मागिएको भन्दै कम्पनीले असन्तुष्टि जनाएको छ । दुवै पक्षले संवाद जारी राख्ने इच्छा व्यक्त गरे पनि तत्काल पुनः वार्ता हुने सम्भावना स्पष्ट छैन ।
स्मार्टफोन, उपभोक्ता इलेक्ट्रोनिक्स तथा सेमिकन्डक्टर उत्पादनमा अग्रणी मानिने सामसुङ इलेक्ट्रोनिक्सले प्रतिस्पर्धी एसके हाइनिक्ससँग मिलेर विश्वको करिब दुई तिहाइ मेमोरी चिप उत्पादन नियन्त्रण गर्दै आएको छ । कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै यस्ता चिपको माग विश्वभर उच्च दरमा बढिरहेको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको विवरणअनुसार जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा सञ्चालन नाफा आठ गुणा बढेर ५७२ खर्ब वन पुगेको छ । युनियनले यही नाफाको आधारमा कर्मचारीलाई उचित लाभ वितरण गर्नुपर्ने माग अघि सारेको हो ।
युनियनको प्रस्तावअनुसार कम्पनीले वार्षिक सञ्चालन नाफाको १५ प्रतिशत रकम कर्मचारी बोनसका रूपमा छुट्याउनुपर्ने तथा हाल कायम ५० प्रतिशत तलब सीमाको बोनस क्याप हटाउनुपर्ने माग गरिएको छ । व्यवस्थापनले भने सेमिकन्डक्टर उद्योग अत्यधिक उतारचढावयुक्त भएकाले यस्तो व्यवस्था दीर्घकालीन रूपमा सम्भव नहुने तर्क गरेको छ ।












