मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने भएको छ ।
एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङलाई कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका थिए।
२०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने बताएका थिए। यसबारे एमालेमा ठूलो विवाद सिर्जना भएको थियो।
सचिवालयको निर्णय विरोध गरेको भन्दै नेताहरू डा। विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गरिएको थियो।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा भाटभटेनीमा आगजनी गरिएपछि गुरूङ नै आफ्नो प्रस्ताबाट फिर्ता भइसकेको नेताहरूले बताएका छन्।
यद्यपि एमालेले अब त्यो जग्गा नलिने र बल्खुस्थित आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको हो। बल्खुमा नयाँ कार्यालय भवन नबनुञ्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकमा प्रस्तावित छ।
सर्वोच्च अदालतको फैसलापछि बल्खुमा कार्यालय भवन बनाउन बाधा नहुने निष्कर्ष पनि एमालेको छ।












