खराब मौसमका कारण हवाई उडान प्रभावित, आधा दर्जन जहाज आकाशमा नै होल्ड
७ जेष्ठ २०८३, बिहीबार १६:३९

काठमाडौं । काठमाडौँ उपत्यकामा मौसम खराब भएसँगै हवाई उडान प्रभावित भएका छन् । आज दिउँसोदेखि उपत्यकामा लगातार वर्षा भइरहेको छ भने आकाश घना बादलले ढाकिएको छ । मौसम प्रतिकूल बन्दा भिजिबिलिटी कमजोर भएको छ, जसका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित बनेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएका आधा दर्जनभन्दा बढी जहाज मौसम सुधारको प्रतीक्षामा आकाशमै फन्का मारिरहेका छन् । कमजोर दृश्यता र खराब मौसमका कारण केही उडान ढिला भएका छन् भने केही जहाजलाई होल्डमा राखिएको विमानस्थलले जनाएको छ ।












