ईभी सहितका सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का

काठमाडौं । नेपाल सरकारले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी बनाउन भन्दै सार्वजनिक सवारी साधनको नयाँ दर्ता अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।
सरकारले सार्वजनिक यातायातको उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण, सवारी साधनको चाप तथा ट्राफिक जाम बढ्दै गएको र त्यसले सर्वसाधारणको आवागमनमा कठिनाइ सिर्जना गरेको निष्कर्ष निकालेको छ । साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहज अवस्था उत्पन्न भएको भन्दै त्यसको सम्बोधन आवश्यक रहेको उल्लेख गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) अनुसार विभागलाई सार्वजनिक हितका लागि कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्का गर्न सक्ने कानुनी अधिकार रहेको उल्लेख गर्दै दर्ता रोक्का गरिएको पत्रमा उल्लेख छ।
अर्को सूचना जारी नभएसम्म मन्त्रालय अन्तर्गतका कार्यालय तथा स्थानीय तहबाट सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरिएको छ । यो व्यवस्था विद्युतीय सार्वजनिक सवारी साधनमा समेत लागू हुने पूर्वाधार विकास मन्त्रालयले स्पष्ट पारेको छ।












