धितोपत्र बोर्डको अध्यक्ष छनौटमा भुवन दाहालको सेटिङ !

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि विज्ञ सदस्य मनोनित भएर काम गरेका भुवन दाहाल आफै सेटिङमा लागेको पाइएको छ । जसका कारण यस पटकको पनि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती विवाद रहित हुन नसक्ने देखिएको छ ।
विगतमा एमालेको सरकारको पालामा झै भुवन दाहालले सेटिङमा मुकुन्द कुमार क्षेत्रीको नाम चार जनामा सिफारिस गरेका छन् । दाहाल अहिले सम्भावित उम्मेदवारलाई हटाएर मुकुन्दसहित अन्य दुई जनाको नाम राखेर सिफारिस गर्न खोजिरहेका छन् । क्षेत्री र दाहालको पुरानो सम्बन्ध रहेको खुलेको छ । स्वार्थ बाझिने गरी सम्बन्ध हुँदा हुँदै पनि छनौट समितिका सदस्य दाहालले आश्चर्यजनक मूभ गरिरहेको स्रोतले जनाएको छ ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले दाजु नाता पर्ने व्यक्तिले उम्मेदवारी दिएपछि छनौट समितिबाट राजिनामा दिएका थिए । भुवन दाहालले पनि एउटै थालामा चिया खाजा खाने मात्रै नभई मिलेर लगानी गरेका मुकुन्द कुमार क्षेत्रीको आवेदन परेपछि छनौट समितिबाट बाहिर बस्नुपर्नेमा स्वार्थ बाझिने गरी काम गरिरहेका छन् ।
सेबोनका अध्यक्षमा कूल ४७ जनाको आवेदन परेको भनिएकोमा ति को को हुन् ? भन्ने समेत सार्वजनिक नगरी छनौट समितिले भित्रभित्रै सेटिङमा काम गरिएको छ । विगतमा विष्णु पौडेल अर्थमन्त्री हुँदा यस्तै कर्मकाण्डी शैलीमा सेबोनको अध्यक्ष नियुक्ती हुने गर्दथे । अहिले ठीक त्यस्तै गरी नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने चलखेल भइरहेको छ ।
स्वर्णिम वाग्लेसँगको विशेष सम्बन्धका कारण धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिमा परेका दाहालको सेटिङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कसरी हेरिरहेको छ त्यसको लागि केही दिन प्रतिक्षा गर्नेपर्ने हुन्छ ।












