महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत घुस सहित रंगेहात पक्राउ

काठमाडौं । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकम सहित रंगेहात पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएर गएको टोलीले पक्राउ गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत यादवले सडक ढलान योजनाको कार्य सम्पन्न भएपश्चात भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई दुःख हैरानी दिई घु माग गरेको सूचना एवं उजुरी परेपछि अख्तियारको टोलीले यादवमाथि निगरानी बढाएको थियो।
निगरानीको क्रममा सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ पनि बरामद भएको छ।
उनको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान र अन्य सरकारी कागजात सहित महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ निगौलस्थित सम्सी गौशाला सडकखण्डको गौशालातर्फ जाँदै गरेको जि सवार सरकारी नम्बर प्लेटको सवारी साधनबाट जेठ ८ गते पक्राउ गरिएको हो।












