मुस्ताङमा बरामद भेपको मुख्य तस्करीलाई खोजी गर्न सरकारकै आनाकानी, कसले गर्यो सेटिङ !

२० जेष्ठ २०८३, बुधबार १२:११

काठमाडौं । नेपालमा प्रतिबन्धित भेप तस्करीको मुख्य जालो पत्ता लगाउन सरकार असफल देखिएको छ । यही जेठ १ गते मुस्ताङको कोरोला नाकाबाट नेपाल प्रवेश गरेको दुई ट्रक भेपको वास्तविक आयातकर्ता र तस्करीमा संलग्न मुख्य योजनाकारसम्म पुगेर अनुसन्धान गर्न तथा गराउन सरकार चुकेको छ ।

अझ सरकारले उक्त काण्ड विगत तीन सातादेखि छानविन समेत नगरी त्यतिकै उन्मुक्ति दिने प्रयास भइरहेकोले मुस्ताङको भेप काण्ड सेटिङमा भएको आशंका उब्जिएको छ ।

मुस्ताङस्थित कोरोला नाकाबाट जेठ १ गते मध्यराति सेटिङमा नेपालतर्फ ल्याइदै गरेको एक लाख २० हजार थान भेप तस्करी काण्ड झिसमिस पार्न खोजिएको पाइएको छ । सो घटनाको सम्बन्धमा हालसम्म प्रहरीलाई समेत अनुसन्धान गर्न दिइएको छैन । मुस्ताङस्थित भन्सार कार्यालयका एक सामान्य अधिकृतबाट छानविन भइरहेको छ । तस्करी गरेर ल्याइएको सामान भएकोले तत्कालै नेपाल प्रहरी वा प्रहरीकै सिआईबीमार्फत अथवा राजश्व अनुसन्धान विभागमार्फत छानविन हुनुपर्नेमा विस्तृत छानविन गर्न सरकार चुकेको छ ।

भेप काण्डको विस्तृतमा छानविन नहुनुले सरकारको नियतमाथि प्रश्न मात्रै उठेको छैन कतै सरकार वा सरकारको नेतृत्व गरिरहेको पार्टीका उच्च वा नेतृत्वबाटै भेप तस्करी काण्डको संरक्षण प्राप्त भइरहेको छैन ? प्रश्न उठेको छ ।

बीमापोष्टलाई प्राप्त सूचनामा एक माओवादी निकट व्यक्तिसँग मिलेर उत्तरी नाकाबाट सेटिङको काम गर्दै आइरहेका व्यक्ति पटक पटक हेलिकोप्टर चढेर मुस्ताङ घुम्दै भेपको सेटिङ मिलाइरहेका छन् । तर, छानविनमा प्रहरी नभएकोले ति सेटिङकर्ता निर्वाध घुमफिर गर्दै आइरहेका छन् । ति विवादास्पद व्यापारी माओवादी र रास्वपा दुवैतिर उत्तिकै हिमचिम रहेको बुझिएको छ । घटनाको तीन पछि जेठ ३ गते ति व्यापारी हेलिकोप्टर चढेर मुस्ताङ पुगेको देखिएको छ । उनी सेटिङ मिलाए भन्दै हेलिकोप्टर चढेर नै काठमाडौं फर्केर भव्य पार्टी समेत दिएकोसम्म पत्ता लागिसकेको छ । तर, कुनै छानविन नहुनुले सरकारको नियतमाथि गम्भिर प्रश्न चिन्ह उठ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*