आईपीओ निष्कासनको माग गर्दै ६ कम्पनी धितोपत्र बोर्डको दैलोमा, कुनले कति ?

२२ जेष्ठ २०८३, शुक्रबार १६:०५

काठमाण्डौ । विभिन्न सेक्टरका ६ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दुई हाइड्रो र चार उत्पादन तथा प्रशोधन सेक्टरका गरी कुल ६ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गरेका हुन् ।

सुपरहेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावर तथा उत्पादन र प्रशोधन समूहतर्फतर्फ राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन् ।

हाइड्रोपावर समूहका सुपर हेवा पावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, रघुगंगा हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँ दरकै १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

उत्पादन तथा प्रशोधन समूहतर्फका कम्पनीहरुमा राजेश मेटल क्राफ्ट्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीकोे बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यता, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले पनि १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता शेयरका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यता एग्रो क्षेत्रको युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

साथै प्रिमियर डिस्टिलरी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरमै २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*