नेपालमा भित्रियो उबर, सहरी यातायातमा बढ्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

काठमाडौं । विश्वकै अग्रणी डिजिटल सवारी सेवा प्रदायक उबरले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। नेपाललाई दक्षिण एसियाको तीव्र रूपमा विकास हुँदै गएको सहरी बजारका रूपमा मूल्याङ्कन गर्दै कम्पनीले आफ्नो मोबाइल आधारित सवारी सेवा नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराएको हो।
उबरका अनुसार नेपाल एसिया–प्रशान्त क्षेत्रभित्र कम्पनीको ११औँ बजार बनेको छ। साथै, दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले विस्तार गरेको यो पहिलो नयाँ बजार हो। कम्पनीले नेपाल प्रवेशलाई आफ्नो विश्वव्यापी विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।
नेपालमा उबरले चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सेवा सञ्चालनमा ल्याएको जनाएको छ। चारपाङ्ग्रे सेवाअन्तर्गत ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सेवाअन्तर्गत ‘उबर बाइक’ उपलब्ध गराइएको छ। कम्पनीका अनुसार यी सेवाले सहरी क्षेत्रका यात्रुहरूलाई सहज, भरपर्दो र सुविधाजनक यात्रा विकल्प प्रदान गर्नेछन्।
७० भन्दा बढी देशमा सेवा विस्तार गरिसकेको उबरको नेपाल आगमनसँगै नेपाली यात्रुहरूले स्वदेशमा मात्र नभई विदेश भ्रमणका क्रममा पनि एउटै परिचित अनुप्रयोगमार्फत सवारी सेवा लिन सक्ने भएका छन्। कम्पनीले यसबाट अन्तर्राष्ट्रिय यात्रु तथा पर्यटकलाई समेत लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपालमा सेवा शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा उबरका एसिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई उबरको विश्वव्यापी सञ्जालमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए। उनले नेपाल डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको, सहरी यातायातको माग उच्च रहेको तथा पर्यटनको ठूलो सम्भावना बोकेको बजार भएको उल्लेख गरे।
उनले स्थानीय यात्रु, चालक तथा विदेशी आगन्तुकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित उबर नेपालमा आएको बताए। प्रविधिमा आधारित यातायात सेवामार्फत यात्रालाई थप सुरक्षित, सहज र प्रभावकारी बनाउने कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पर्यटन नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै यातायातको सहज पहुँचले पर्यटन उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उबरजस्तो अन्तर्राष्ट्रिय स्तरको डिजिटल सवारी सेवा नेपाल भित्रिनुले पर्यटक र स्थानीय दुवैलाई सुविधा पुग्ने उनको भनाइ थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकार आधुनिक तथा डिजिटल यातायात प्रणाली निर्माणमा प्रतिबद्ध रहेको बताए। उनले उबरको नेपाल प्रवेशले मुलुकको आर्थिक सम्भावना र लगानी वातावरणप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास झल्काउने उल्लेख गरे।
सिग्देलले यस्ता प्रविधिमा आधारित सेवाले रोजगारी तथा आयआर्जनका अवसर विस्तार गर्न मद्दत पुग्नुका साथै सहरी यातायात व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
सन् २०१० मा स्थापना भएको उबरले विश्वभर मानिस, खाद्यान्न तथा अन्य सामग्रीको ढुवानीलाई डिजिटल माध्यमबाट जोड्ने काम गर्दै आएको छ। कम्पनीका अनुसार हालसम्म विश्वभर ७५ अर्बभन्दा बढी यात्रा सम्पन्न भइसकेका छन्। नेपाल प्रवेशसँगै उबरले आफ्नो विश्वव्यापी सञ्जाललाई थप विस्तार गर्दै नेपाली यातायात बजारमा नयाँ प्रतिस्पर्धा र अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।












