सामाजिक सुरक्षा भत्तामा चरम लापरबाही: शिखरका वडाहरुले ३३ जना मृतकका खातामा पठाए रकम

काठमाडौँ । डोटीको शिखर नगरपालिका अन्तर्गतका वडाहरुले आर्थिक वर्ष २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता वितरणमा गम्भीर लापरबाही भएको पाइएको छ । महालेखा परिक्षकको ६३ औं प्रतिवेदनमा वडाहरुले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले मृत्यु भइसकेका लाभग्राहीलाई मृत्यु भएको दिनसम्मको मात्र भत्ता हकवालामार्फत उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था गरे पनि समयमै लगत कट्टा नगर्दा मृतकका खातामा समेत भत्ता जम्मा भएको खुलासा भएको हो ।
नगरपालिकाका विभिन्न वडामा मृत्यु भइसकेका ३३ जना लाभग्राहीको नाम समयमै अभिलेखबाट हटाइएन । जसका कारण मृत्यु भएको मितिपछि पनि उनीहरूको खातामा सामाजिक सुरक्षा भत्ता निकासा तथा भुक्तानी गरिएको देखिएको छ ।
प्रतिवेदनले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को नियम १५ (२) र (४) को उल्लेख गर्दै मृत्यु भएको दिनसम्मको भत्ता मात्र हकवालालाई दिनुपर्ने र त्यसपछिको रकम भुक्तानी गर्न नमिल्ने जनाएको छ । तर सम्बन्धित लाभग्राहीको मृत्यु विवरण अद्यावधिक नगरी त्रैमासिक रूपमा भत्ता निकासा गर्दा अनियमित रूपमा रकम भुक्तानी भएको पाइएको हो ।
सबैभन्दा बढी वडा नम्बर ३ की परि भुलको खातामा ४६ हजार ७५० रुपैयाँ बढी भुक्तानी भएको देखिएको छ । त्यस्तै श्रीमती विष्णाकुमारी शाहीको नाममा दोहोरो दर्ता कायम रहँदा आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिकदेखि २०८२/८३ को चौथो त्रैमासिकसम्म गरी एक लाख ५७ हजार ३०० रुपैयाँ भुक्तानी भएको उल्लेख छ ।
यसैगरी काले कोलीको खातामा १० हजार रुपैयाँ, उद्धवबहादुर मल्लको खातामा १० हजार ८ सय रुपैयाँ, लालमती बोहराको खातामा १० हजार ९ सय ३३ रुपैयाँ, करी जोराको खातामा १० हजार ९ सय ३३ रुपैयाँ, भगी कुँवरको खातामा ९ हजार ८ सय ६७ रुपैयाँ, हरि पाल विष्टको खातामा ९ हजार २ सय रुपैयाँ तथा करी टोमटाको खातामा १३ हजार ९ सय ३१ रुपैयाँ बढी भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयले मृत्यु भएका लाभग्राहीले मृत्यु भएको दिनसम्म पाउने रकम हकवालालाई भुक्तानी गरी त्यसपछिको बढी निकासा तथा भुक्तानी भएको रकम सम्बन्धित हकवालाबाट असुलउपर गर्न निर्देशन दिएको छ । प्रतिवेदनले उक्त रकम संघीय सञ्चित कोषमा फिर्ता दाखिला गर्नुपर्ने जनाएको छ ।
नगरपालिकाका विभिन्न वडामा भएका यस्ता त्रुटिका कारण कुल ३ लाख ६१ हजार २५१ रुपैयाँ अनियमित रूपमा भुक्तानी भएको देखिएको छ ।
वडामा भएको यस्तो त्रुटि बारे आफुले सम्बन्धीत कार्यालयसँग छलफल गरिरहेको नगरप्रमुख दिर्घ बलायरले बताए । उनले भने, ‘यो विषयमा म जानकार छु । मैले पटक पटक यस्तो गल्ती बारे सम्बन्धी वडा कार्यालयसँग छलफल समेत गरेको छ । आगामी दिनहरुमा गल्ती नदोहोरिने गरी काम गर्ने समेत भनेको छु ।’
हेर्नुहोस् कुन वडाबाट भयो कति भुक्तानी:-












