हुण्डी कारोबारको आशंकामा १९ लाख रुपैयाँ सहित एकजना पक्राउ

काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारबाट प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई हुण्डी सम्बन्धी कारोबार गरेको आशंकामा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाअन्तर्गत अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्ग सडकखण्डमा सवारी साधन तथा यात्रुहरूको नियमित जाँचका क्रममा उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीलाई रोकी जाँच गर्ने क्रममा गाडीमा सवार गोसाईकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङले बोकेको झोलाभित्र ठूलो परिमाणमा नगद फेला परेको थियो।
बरामद रकममध्ये एक हजार दरका १ हजार ८४५ थान नोट बराबर १८ लाख ४५ हजार रुपैयाँ, पाँच सय दरका २१३ थान नोट बराबर १ लाख ६ हजार ५०० रुपैयाँ तथा एक सय दरका ६ थान नोट बराबर ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। यसरी कुल १९ लाख ५२ हजार १०० रुपैयाँ बरामद भएको हो।
उक्त रकमको स्रोत खुलाउन नसकेको र हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकाका आधारमा गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।











