भोलिदेखि नेप्सेमा सोपान फर्मास्युटिकल्सको कारोबार, लगानीकर्ताको नजरमा नयाँ कम्पनी

काठमाडौं । भोलि सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको कारोबार शुरू हुँदैछ। हालैमात्र आईपीओ जारी गरेको यस कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएर कारोबारमा आउन लागेको हो।
सोपान फर्मास्युटिकल्स लिमिटेडले वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बिक्री खुला गरी वैशाख १७ गते बाँडफाँड गरेको थियो। बाँडफाँडमा ३ लाख ४७ हजार ४९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर हात पारेका थिए।
आईपीओ बाँडफाँडपछि जेठ २२ गते नेप्सेमा यस कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ। कम्पनीको शेयर भोलि सोमबार नेप्से खुलेसँग कारोबारमा आउनेछ।












