लिपुलेकमा भारत र चीन सम्झौताप्रति खनालको आपत्ति, ‘नेपालको सहमतिबिनाको निर्णय स्वीकार्य छैन’

२४ जेष्ठ २०८३, आईतवार १४:४८

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनाल ले लिपुलेक र कालापानी क्षेत्रका विषयमा भारत र चीन बीच भएको पछिल्लो सम्झौताप्रति नेपालको गम्भीर असहमति रहेको स्पष्ट पारेका छन् ।

आइतबार नयाँ दिल्लीमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा मन्त्री खनालले नेपाली भूभागलाई नेपाललाई बाहिर राखेर छिमेकी राष्ट्रहरूले गर्ने कुनै पनि सहमति स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएका हुन् ।

कैलाश मानसरोवर यात्राको सन्दर्भमा बोल्दै उनले नेपालले सधैं भारतीय तीर्थयात्री तथा पर्यटकका लागि आफ्ना विभिन्न सीमा नाकाहरू खुला राखेको र उनीहरूको यात्रा सहज बनाउन निरन्तर सहजीकरण गर्दै आएको उल्लेख गरे । उनका अनुसार नेपालका नाकाहरू प्रयोग गरेर मानसरोवर जाने भारतीय पर्यटकलाई नेपालले स्वागत गर्दै आवश्यक सबै सुविधा उपलब्ध गराउँदै आएको छ ।

उनले पर्यटन र तीर्थाटनका क्षेत्रमा नेपालले देखाएको उदारता र सहजीकरणलाई छिमेकी राष्ट्रहरूले सकारात्मक रूपमा लिनुपर्ने बताए । साथै, यसलाई दुई देशबीचको आपसी विश्वास र सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

लिपुलेक र कालापानी क्षेत्र, जसलाई नेपालले आफ्नो अभिन्न भूभागका रूपमा दाबी गर्दै आएको छ, को विषयमा मन्त्री खनालले नेपालको अडान स्पष्ट र दृढ रहेको दोहोर्याए । भारत र चीनबीच लिपुलेक नाकालाई व्यापारिक वा धार्मिक प्रयोजनका लागि प्रयोग गर्ने सम्बन्धमा भएका पछिल्ला सहमति र त्यसका नवीकरणप्रति नेपालको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

उनले भने, ‘लिपुलेक र कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा हाम्रो दाबी लामो समयदेखि स्पष्ट छ । नेपालको सहमति र सहभागिताबिना दुई छिमेकी मुलुकहरूले मात्र मिलेर हाम्रो भूभागबारे कुनै पनि किसिमको सम्झौता वा निर्णय गर्न सक्दैनन् । यस्तो कार्य सार्वभौमसत्ताको सिद्धान्तविपरीत हुन्छ र नेपालले यसलाई मान्यता दिँदैन ।’

मन्त्री खनालले नेपाल सरकारले आफ्नो असन्तुष्टि र आधिकारिक अडान दुवै देशसमक्ष कूटनीतिक रूपमा पुर्याइसकेको जानकारी पनि दिए । उनका अनुसार नेपालले भारत र चीन दुवैलाई स्पष्ट पार्दै कूटनीतिक नोट पठाइसकेको छ ।

त्यस्ता नोटहरूमा नेपालको भूभागसम्बन्धी कुनै पनि निर्णय गर्दा नेपालको सहमति अनिवार्य हुनुपर्ने र नेपाललाई बाइपास गरेर गरिने सम्झौताले कूटनीतिक मर्यादा उल्लंघन गर्ने उल्लेख गरिएको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*