मर्जर प्रक्रियामा अघि बढ्दै सप्तकोशी डेभलपमेन्ट बैंक, असार १४ मा साधारण सभा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड मर्जरमा जाने भएको छ। बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) प्रक्रियामा अघि बढ्ने निर्णय गरेको हो।
बैंकले उक्त प्रस्ताव पारित गर्न असार १४ गते बिहान ११ बजे मोरङको विराटनगरस्थित होटल रुविजमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभाले मर्जर तथा एक्विजिसनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै मर्जर प्रक्रियाका लागि आवश्यक मूल्याङ्कनकर्ता नियुक्ति, सम्पत्ति तथा दायित्वको मूल्याङ्कनलगायतका कार्य गर्न पनि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव रहेको छ।
यसैगरी, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि बैंकले असार २ गतेदेखि असार १४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ। असार १ गतेसम्म नामसारी भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउनेछन्।












