बीमा प्राधिकरणमा उजुरीको चाङ: १० महिनामा १४९ नयाँ मुद्दा, ३८६ अझै विचाराधीन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा १० महिनामा १४९ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को बैशाख मसान्तसम्मको केन्द्रिय कार्यालयमा १०४ वटा र प्रदेश कार्यालयमा ४५ वटा मुद्दा परेका हुन् ।
गत आर्थिक वर्षका बाँकी रहेका ३९४ उजुरीको अझै फैसला हुन सकेको छैन । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको समिक्षा अवधिसम्मको गरेर ५४३ वटा मुद्दा बीमा प्राधिकरणमा परेका हुन् ।
गत आर्थिक वर्षको सोहि अवधिमा केन्द्रिय कार्यालयमा १४४ वटा र प्रदेश कार्यालयमा ९१ वटा गरि २३५ वटा मुद्धा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष २८७ र पुनरावेदनबाट आएका ३ मुद्धा गरी गत आर्थिक वर्षको १० महिनासम्मको अवधिमा ५२५ वटा मुद्धा दर्ता भएका थिए ।
उजुरी फछर्यौट कति ?
बीमा प्राधिकरणले बैशाख मसान्तसम्मको अवधिमा ११७ वटा मुद्दामा फैसला सुनाएको छ भने ४० वटा मुद्दामा सहमतिबाट गरी कुल १५७ वटा उजुरी फछर्यौट भएका छन् । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा उजुरी फैसला र ४६ वटा मुद्दामा सहमति गरी १३१ वटा मुद्धा फछर्यौट गराएको थियो ।
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्यांक अनुसार कुल ३८६ वटा उजुरीहरु विचाराधिन अवस्थामानै रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३९४ वटा मुद्दाहरु फछ्र्यौट हुन बाँकी रहेको थियो ।













