बजेट समस्याको समाधान गर्ने विषय होइनः अर्थमन्त्री वाग्ले

२५ जेष्ठ २०८३, सोमबार १५:५१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार पाँच वर्षे रोडम्याप अनुसार अघि बढिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले वाचापत्रमै पाँच वर्षको कार्ययोजना सार्वजनिक गरिएको र सरकार सोही मार्गचित्र अनुसार अगाडि बढिरहेको बताए।

उनले बजेटलाई सबै समस्याको समाधान गर्ने माध्यमका रूपमा बुझ्न नहुने उल्लेख गर्दै बजेटको मुख्य उद्देश्य उपलब्ध स्रोत–साधनलाई प्राथमिकता अनुसार विनियोजन गर्नु रहेको बताए। उनले भने, ’बजेटले समस्याको समाधान गर्ने विषय होइन। यो त पैसा कहाँ–कहाँ खर्च गर्ने भन्ने विषय मात्र हो। कर्मचारीलाई तलब खुवाउनुपर्‍यो, पहिलेदेखि सञ्चालनमा रहेका आयोजनालाई बजेट दिनुपर्‍यो, त्यहीँ खर्च गर्नुपर्छ।’

अर्थमन्त्री वाग्लेले सरकारले नीतिगत सुधारका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गरे। उनले भने, ’समग्र करको बोझ घटाउने वाचालाई हामीले बजेटमार्फत सम्बोधन गरेका छौं। आयकरको सीमा पाँच लाखदेखि बढाएर १० लाख पुर्‍याएका छौं। बोझ नथप्ने र जग बसाल्ने काम हामीले गरेका छौं।’

सरकार सुशासनको जगमा निर्माण भएकाले बजेटको प्रभावकारी कार्यान्वयन गर्न सक्षम रहेको उनको भनाइ थियो। उनले विदेशी ऋणबारे पनि धारणा राख्दै भने, ’विदेशी ऋण देखिएजस्तो ठूलो समस्या होइन।’ उनले नेपालको अर्थतन्त्रलाई निजी क्षेत्रमैत्री र लगानीमैत्री बनाउने सरकारको लक्ष्य रहेको बताए। ’अर्थतन्त्रको जहाज निजी क्षेत्रमैत्री र लगानीमैत्री हुने छ’ उनले भने।

स्थिर सरकार भएकाले बजेट र कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे। अदालतमा विचाराधीन करसम्बन्धी मुद्दाका विषयमा समेत सरकारले सहजीकरण गरेको दाबी गर्दै उनले भने, ’कर विवादमा परेका व्यवसायीले तोकिएको करबाट एक प्रतिशत जरिवाना तिरे त्यसलाई छुट हुने प्याकेज लिएर आएका छौं।’

पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले अधुरा आयोजना सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ’पूर्वाधारमा बिग बोस होस् भन्ने हामीले चाहेका छौं। पुराना थाती रहेका पुल, सडक र आयोजनाहरू पूरा गर्नुपर्ने छ। पूर्वाधारमा हामीले ठूलो सुधार गरेका छौं। देशभरका आयोजनालाई अघि बढाउने काम गरेका छौं।’

निजी पुँजी परिचालनमार्फत ठूला आयोजना अघि बढाइने पनि उनले बताए। ’निजी पुँजी भित्र्याएर हामी ठूला–ठूला आयोजना ल्याउनेवाला छौं’ उनले भने। बैंकिङ क्षेत्रमा देखिएको तरलताको अवस्थालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरिने जानकारी दिँदै उनले भने, ’बैंकिङ क्षेत्रमा देखिएको तरलताजस्ता विषयलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्नेछौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*