चिनियाँ कम्पनी अलीबाबा, बीवाईडी र बाइडुलाई कालोसूचीमा, सूचना चुहावट हुने आशंका

२६ जेष्ठ २०८३, मंगलवार १२:३५

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चिनियाँ प्रविधि तथा व्यापार क्षेत्रका ठूला कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनासँग सम्बन्धित कम्पनीको सूचीमा समावेश गर्दै कालोसूची (ब्ल्याक लिस्ट) मा राखेको छ ।

सोमबार सार्वजनिक गरिएको अद्यावधिक सूचीमा यी तीन कम्पनीलाई चीनको सैन्य विकासमा सहयोग गर्ने संस्थाका रूपमा उल्लेख गरिएको छ । पेन्टागनले हरेक वर्ष अद्यावधिक गर्ने सूचीमा यसपटक १८८ कम्पनी समावेश गरिएको छ, जुन सन् २०२५ मा १३४ थियो ।

पेन्टागनका अनुसार सूचीमा परेका कम्पनीहरू चीनको सेनाको स्वामित्व वा नियन्त्रणमा रहेका वा चीनको ‘सैन्य–नागरिक एकीकरण’ रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने संस्थाहरू हुन् । अद्यावधिक सूचीमा अलीबाबा, बीवाईडी र बाइडुले चीनको राज्य स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँगको सम्बन्धमार्फत चीनको सैन्य विकासलाई सहयोग गरेको दाबी गरिएको छ ।

यस निर्णयप्रति वासिङ्टनस्थित चिनियाँ दूतावासले कडा आपत्ति जनाएको छ । दूतावासका एक प्रवक्ताले अमेरिकी कदमलाई “भेदभावपूर्ण र गलत अभ्यास” भन्दै आलोचना गरेका छन् । उनले विदेशी बजारमा काम गर्ने चिनियाँ कम्पनीहरूले सम्बन्धित देशका कानुन र नियमहरूको पूर्ण पालना गरिरहेको दाबी गर्दै अमेरिकालाई निष्पक्ष र भेदभावरहित वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

यसैबीच, अलीबाबाले आफूलाई सूचीमा राख्नुको कुनै आधार नभएको भन्दै कानुनी उपचार अपनाउने प्रतिक्रिया दिएको छ । कम्पनीका प्रवक्ताले अलीबाबा न त चिनियाँ सैन्य कम्पनी भएको, न त सैन्य–नागरिक एकीकरण रणनीतिको हिस्सा भएको दाबी गर्दै आफ्नो छवि बिगार्ने प्रयासविरुद्ध कानुनी कदम चालिने बताएका छन् ।

बीवाईडी र बाइडुले भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*