१० महिनामै १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो, बैशाखमा मात्रै २ खर्ब ५७ अर्ब

२६ जेष्ठ २०८३, मंगलवार १७:२९

काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । २०८३ बैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१६५ अर्ब ३० करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

बैशाख मसान्तसम्मको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३,३५,५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,२६,३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,०५,६१० र २,८०,३१४ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*