अमेरिकाको अभेद्य अपाचे हेलिकोप्टर इरानमा ठहरै, बोईङको खर्बौको व्यापार दाउमा

२७ जेष्ठ २०८३, बुधबार ०८:१३

काठमाडौं । गएराति अमेरिकाको अत्याधुनिक अभेद्य एएच ६४ अपाचे हेलिकोप्टरलाई इरानले खसालेको छ । ओमानको खाडीमा उडेर इरानविरुद्ध सुचना लिइरहेको सो हेलिकोप्टरलाई इरानी सेनाले खतरनाक प्रहार गरी ठहरै पारेपछि अमेरिका स्तब्ध मात्रै भएको छैन, इरानी प्रविधि देखेर तीन छक पर्न पुगेको छ । स्थानीय समय अनुसार मंगलबार विहान करिब ३ः३० बजेतिर अमेरिकी हेलिकोप्टर इरानले खसाली दिएको थियो ।

अत्याधुनिक प्रतिरक्षा प्रणाली जडित सो हेलिकोप्टर स्ट्रेट अफ हर्मुजमा पेट्रोलिङको क्रममा खसालिएको हो । हाल अमेरिका र इरानबीचमा युद्धविराम जारी छ । सोही कारण हेलिकोप्टरले आक्रमण गर्नुपूर्व नै इरानी सेनाहरुले जोखिम देखेर नयाँ प्रविधिको ड्रोन प्रयोग गरेर खसाली दिएका हुन् ।

दुई जना चालक दलको सकुशल उद्धार गरिएको अमेरिकी सेनाको सेन्टकमले जनाएको छ । दुई वटा जनरल इलेक्ट्रिक टर्बोशाफ्ट इन्जिन भएको सो हेलिकोप्टरको मूल्य नेपाली रुपैयाँ छ अर्ब भन्दा बढि पर्छ । प्रतिघण्टा २७९ किमीको गतिमा दौडिन सक्ने सो अत्याधुनिक हेलिकोप्टरमा राडार सिष्टमका अतिरिक्त ३० एमएमको ः२३० अटोमेटिक चेनगन, १६ वटा मिसाइल जसले सडकमा गुडिरहेका ट्याङ्कहरुलाई भेदन गर्न सक्छ, जडान गरिएको हुन्छ । त्यस्तै, ७० एमएमको हाईड्रा मिसाइल बोकेर हिड्ने उक्त हेलिकोप्टर अत्यन्तै डरलाग्दो खालको हुन्छ । अमेरिकी सेनाका कडा कवच मानिएको सो हेलिकोप्टर नै इरानले खसालीदिएपछि दोहोरो आक्रमण र प्रत्याक्रमण चलिरहेको छ ।

हेलिकोप्टर खसालेको विरुद्धमा अमेरिकाले इरानको बन्दर अब्बास र हर्मुज नकिजकैका केही टापुहरुमा सैन्य आक्रमण गरेको छ । इरानले पनि बहराईनमा रहेको अमेरिकाको पाँचौं एयरबेसमा आक्रमण गरेर बदला लिएको जनाएको छ ।
विश्वकै अत्याधुनिक हेलिकोप्टरलाई एकै झट्कामा स्वाहा पारेसँगै अमेरिकाको पाँच अर्बभन्दा बढिको होलिकोप्टर त स्वाहा भएकै छ, यसको अतिरिक्त उक्त हेलिकोप्टरको सुरक्षा क्षमतामाथि नै प्रश्न चिन्ह उठेको छ । हाल पोल्याण्ड, इण्डोनेसिया, साउदी अरेबिया, भारत, इजरायल लगायतका देशहरुसँग अमेरिकाले यी हेलिकोप्टरहरु बिक्री गरेको छ ।

प्राप्त समाचार अनुसार अमेरिकाले बिक्री गर्दा प्रति युनिट ५० मिलियन डलरमा यी हेलिकोप्टरहरु बिक्री गर्दै आएको छ । पोल्याण्डले गत वर्षमात्रै ४.७ बिलियन डलर मूल्यका एएच ६४ अपाचे हेलिकोप्टर खरिद गर्ने सम्झौता अमेरिकासँग गरेको थियो । सो सम्झौता अनुसार सन् २०२८ सम्ममा अमेरिकाले पोल्याण्डलाई अपाचे हेलिकोप्टर उपलब्ध गराउने छ ।

दक्षिण कोरियासँग पनि अपाचे हेलिकोप्टर धेरै मात्रामा छ । अमेरिकाले दक्षिण कोरियालाई ३.५ बिलियनको यस्ता अत्याधुनिक हेलिकोप्टरहरु उपलब्ध गराएको थियो । अमेरिकाले इजरायललाई ३.८ बिलियन डलरको अपाचे हेलिकोप्टर बिक्री गर्ने सम्झौता गरेको छ । त्यस्तै भारतलाई १९८ मिलियनका अपाचे हेलिकोप्टर अमेरिकाले उपलब्ध गराएको थियो ।

अपाचे हेलिकोप्टर बोईङले निर्माण गरेको हो । यसको शेयर मूल्यमा सामान्य गिरावट आएको छ । यो हेलिकोप्टर निर्माता कम्पनी बोईङले अमेरिकालाई मात्रै ७०० वटा भन्दा बढि यस्ता हेलिकोप्टर बिक्री गरिसकेको छ । खर्बौ रुपैयाँको यी हेलिकोप्टरको सुरक्षा चुनौतिलाई एकै सट्कामा इरानले चुनौति दिएसँगै बोईङको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा हुन पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*