प्यूठानमा हरित हाइड्रोजन उत्पादनको परीक्षण शुरु, बुटवल पावर कम्पनीद्वारा पाइलट परियोजना सञ्चालन

२७ जेष्ठ २०८३, बुधबार ११:१९

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत् आयोजनामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार आयोजना परिसरमा विशेष कार्यक्रमबीच परियोजनाको औपचारिक उद्घाटन गरेको हो।

बेलायत सरकारको आर्थिक सहयोग र विश्व बैंकको प्राविधिक सहयोगमा निर्माण गरिएको यो परियोजना नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन तथा परीक्षणका लागि महत्वपूर्ण मानिएको छ।

परियोजनाले झिमरुक जलविद्युत् आयोजनाबाट उत्पादित नवीकरणीय विद्युत् प्रयोग गरी पानीलाई विद्युत् अपघटन प्रक्रियामार्फत विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गर्छ। प्लान्टमा जडान गरिएको ५० किलोवाट क्षमताको क्षारीय इलेक्ट्रोलाइजर प्रणालीबाट ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन हुने कम्पनीले जनाएको छ। उत्पादित हाइड्रोजनलाई १५० पटक दबाबमा सङ्कुचन गरी सिलिन्डरमा भण्डारण गरिनेछ। यसबाट हाइड्रोजनको उत्पादन, भण्डारण, सुरक्षा, सञ्चालन र सम्भावित प्रयोगका विभिन्न पक्षहरूको परीक्षण तथा मूल्याङ्कन गरिनेछ।

कम्पनीका अनुसार प्लान्ट १३ अप्रिल २०२६ मै सफलतापूर्वक सञ्चालनमा आइसकेको थियो। सोही दिन पहिलो हाइड्रोजन सिलिन्डर पनि सफलतापूर्वक भरिएको थियो। उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, ऊर्जा मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विश्व बैंक, बेलायत सरकारका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरण तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

विश्वभर हरित हाइड्रोजनलाई न्यून कार्बन ऊर्जा प्रणालीतर्फको महत्वपूर्ण विकल्पका रूपमा हेरिँदै आएको छ। यसलाई यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणजस्ता क्षेत्रमा प्रयोग गर्न सकिने भएकाले भविष्यको स्वच्छ ऊर्जाका रूपमा यसको महत्व बढ्दो छ। बीपीसीले यस परियोजनाबाट प्राप्त अनुभवले भविष्यमा ठूला परियोजनाको सम्भाव्यता अध्ययन, सुरक्षा मापदण्ड निर्धारण, नीतिगत व्यवस्था तथा नेपालको ऊर्जा प्रणालीमा हाइड्रोजनको उपयोगबारे मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।

प्रचुर जलविद्युत् सम्भावना रहेको नेपालमा अतिरिक्त विद्युत्लाई हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु उपयोग, औद्योगिक प्रयोजन, यातायात तथा सम्भावित निर्यात बजारमा उपयोग गर्न सकिने सम्भावना रहेको विज्ञहरू बताउँछन्। सरकारले पनि हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने तयारी गरिरहेको छ। करिब छ दशकदेखि नेपालको ऊर्जा क्षेत्रमा सक्रिय बुटवल पावर कम्पनीले जलविद्युत् विकाससँगै नवीन ऊर्जा प्रविधिको परीक्षण र विस्तारमा पनि भूमिका बढाउँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*