पोखराका सुकुमवासी तथा न्यून आय परिवारका लागि निःशुल्क जीवन बीमा कार्यक्रम सुरु

२७ जेष्ठ २०८३, बुधबार १४:०८

काठमाडौँ ।  पोखरा महानगरपालिका–१२ ले वडाभित्र बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारका लागि निःशुल्क म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका विपन्न समुदायलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले ४४ परिवारको बीमा गरिदिएको हो।

वडाले स्थानीयस्तरमा सामाजिक सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ लागू गरेको यो कार्यक्रममार्फत दैनिक जीविकोपार्जनका लागि संघर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, रोग वा मृत्युजस्ता जोखिमका कारण उत्पन्न हुने आर्थिक संकट न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुमवासी तथा न्यून आय भएका घरपरिवारलाई प्राथमिकतामा राखेर बिमा सुविधा उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार आर्थिक रूपमा कमजोर समुदायलाई आधारभूत सुरक्षा प्रदान नगरी समावेशी विकास सम्भव नहुने भएकाले यस्तो कार्यक्रम अघि बढाइएको हो। उनका अनुसार आकस्मिक घटनाले विपन्न परिवारलाई अझ ठूलो आर्थिक बोझमा पार्ने भएकाले त्यसको जोखिम व्यवस्थापन गर्न म्यादी जीवन बिमा प्रभावकारी माध्यम बन्न सक्छ।

वडाले उपलब्ध गराएको विवरणअनुसार म्यादी जीवन बिमा कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति वार्षिक २५० रुपैयाँ बिमा शुल्कमा सुविधा प्रदान गरिएको छ। यस बिमा योजनामा बिमित व्यक्तिले उपचारका लागि एक लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने व्यवस्था छ भने बिमितको मृत्यु भएमा परिवारले एक लाख ५० हजार रुपैयाँसम्मको राहत रकम पाउने व्यवस्था गरिएको छ।

यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। न्यून बजेटमै लक्षित समुदायसम्म प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयको भनाइ छ।

यसैबीच, वडासदस्य शान्ति कोइरालाले न्यून आय भएका परिवारका लागि यस्तो बिमा कार्यक्रम महत्वपूर्ण रहेको बताइन्। उनका अनुसार दैनिक मजदुरी तथा अस्थायी रोजगारीमा निर्भर परिवारहरू आकस्मिक जोखिममा सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरूलाई आर्थिक सुरक्षा कवच उपलब्ध गराउनु आवश्यक छ। उनले यस्ता कार्यक्रमले विपन्न समुदायलाई आत्मनिर्भरता र आर्थिक स्थायित्वतर्फ अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रम कार्यान्वयनका लागि वडाले बीमा सेवासँग सम्बन्धित प्रक्रिया, लाभ र आवश्यकताको बारेमा लक्षित समुदायलाई सचेतना पनि प्रदान गरेको छ। सचेतना कार्यक्रममा सहभागीलाई बीमा योजनाले आकस्मिक जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउने, परिवारको भविष्य सुरक्षित गर्ने तथा आर्थिक स्थायित्व कायम गर्न मद्दत गर्ने विषयमा जानकारी दिइएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*